Navin

बैतडीका स्थानीय अनसनमा, अनसन पछाडिको वास्तविकता, आखिर जिम्मेवार को ?



आफ्नो गाउँमा सडक बनाउनु पर्ने माग राख्दै बैतडीका एक स्थानीय विगत ५ दिनदेखि अनसन बसेका छन् । दशरथ चन्द नगरपालिका-१ खालका स्थानीय ७८ वर्षीय हरिजितसिहं टेर अनसनरत रहेका हुन् ।  जेठ १४ गते देखि गुरूखोलाबाट खाल कलुन जाने बाटोमा सत्याग्रहमा बसेका टेरले लामो समय अगाडि नै सर्वे भएको र सँगै सर्वे गरिएका अरू ठाउँमा मोटरबाटो पुगे पनि आफ्नो ठाउँमा नपुगेकोमा आक्रोश व्यक्त गरेका छन् । उक्त बाटोको लागि रकम विनियोजित भए पनि अरूतिर रकमान्तरण हुने कुरा सुन्न आएकोमा अनसन बस्नु परेको पनि  अनसनरत टेरले बताएका छन् ।

स्थानीयहरूका अनुसार जनघनत्व बढी भएको गुरूखोला खाल हुँदै सडक जाने कुरा रहेको थियो । साथै छोटो दूरी र सडक निर्माणका लागि पनि सजिलो खाल जाने माथिल्लो बाटो रहेको हुनाले सडक त्यसै पट्टिबाट जाने योजनामा थियो । गुरूखोलाबाट २ किमि खनिसकिएको सडक निर्माण केही व्यक्तिको दबाबमा रोकिएको र उनीहरूबाटै आफ्नो स्वार्थ अनुसार जनघनत्व एकदमै कम रहेको ठाउँबाट स्वनक्साङ्कन गरी सडकको मूलधार नै परिवर्तन गरिँदा स्थानीयले बिरोध जनाएका हुन् । स्थानीयको बिरोधपछि सडक निर्माण कार्य रोकिएको हो ।

शब्दपाटीलाई प्राप्त जानकारी अनुसार स्थानीयबासी एवं जग्गाधनीको सहमति एवं जानकारी बेगर बल र शक्तिका आडमा जमीन तथा घरबार मासिएकोमा पीडित स्थानीयले आपत्ति जनाएका छन् । प्राप्त जानकारी अनुसार उक्त सडक निर्माण कार्यमा संलग्न भै प्रतिनिधित्व गर्ने पूर्व गाविस अध्यक्ष महादेव भट्ट, स्थानीय जग्गाधनी दीर्घबहादुर चन्द, बिष्णुप्रसाद भट्ट लगायतका केही व्यक्तिहरूद्वारा यहाँका केही स्थानीयहरूलाई रकमको प्रलोभन देखाई सडक खन्न सुरु गरिएको तर स्थानीय र उपभोक्ताको सहमति नमिले पछि बिगत २ वर्षदेखि काम रोकिन आएको छ ।

उक्त बाटोको सुत्रपात हुँदा समेत हाल अनसनरत हरिजितसिहं टेरले ७-८ दिनको अनसन बसी गुरुखोलाबाट खालसम्म सडक जाने सर्तमा अनसन तोडेका थिए र उक्त सडकका लागि आफ्नो जग्गा समेत छोडी  काम अगाडि बढाएका थिए ।

तर हाल खालबाट सडक नगई मान्छेको न्युनतम बसोबास भएको ठाउँतिरबाट धार परिवर्तन गरी, त्यसमाथि सम्बन्धित जग्गाधनी र घरवालाहरूलाई सोध्दै नसोधी बाटोको काम सुचारू गरेको र साथै  स्थानीयलाई सुविधा दिनुको सट्टा लम्बेतान सडक बनाई उल्टै सास्ती दिने प्रपञ्च रचिएको हुँदा फेरि अनसन बस्न बाध्य भएको अनसनरत टेरले जनाएका छन् । उहाँको अनसनलाई स्थानीयबासीले समर्थन गरेका छन् साथै उहाँको माग पूरा गर्न समेत सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

Subscribe to this Blog via Email :