Amrit Jaishi

अब म आउँदै छु



                                                                        
कविता
(अमृत जैशी)

भाइलाई यतै स्वर्गमा भेटेपछि
यत्ति नलेखी रहन सकेनन् बाबा
बाबा तपाई पनि मलाई खोज्दै भौतारिंदै हिड्नुहुन्छ रे
हिजो आज,
म हराएको छैन बाबा
म आउँदै छु
तपाईलाई एक पाकेट चुरोट
छोरीलाई गुडिया र आमालाई सारी
ल्याउन नसके पनि
तिमीले भनेको फलामको सानो बाकसमा पैसा
बोकेर होइन देहलता
म आफैँ काठको रातो ठूलो बाकसमा आउँदैछु ।

मलाई हेर्न मन थियो एकपटक
छोरीको हात समातेर लेखेको कपुरी "क"
बाबा भन्दै लड्दै दगुर्दै आउँदै गरेकी मेरी छोरी
देहलताको एक मुस्कान जसमा म
वर्षौ हराउन सकूँ
फाँसीको पासोमा झुण्डिनु पूर्व
एकपटक हेर्न मन थियो मेरो देश
यी स्वप्निल नजरहरूले जो जेलका कोठरीमा
बर्षौ कुरेपछि मधुरा बन्दै गएका छन् ।
म विदेश जाँदा आफ्नै गतिमा दौडिरहेको
समय अझ म भन्दा कति अगाडि छ?, बुझ्न मन छ
लगाउन मन थियो बहिनीको माला घाँटीमा
फाँसीको पासो झुण्डाउनु पूर्व नै
तर सबै सोचे जस्तो हुँदो रहेन छ, बाबा !

बाबा तपाईले हातमा बाँधेको त केवल
घडी मात्र रहेछ बा,
समय बाँधेको भए आज यस्तो दिन देखिनुपर्ने थिएन, सायद
बाबा आज सम्झिदै छु सप्तरङ्गी टीका
जो मेरा निधारलाई स्पर्श गर्न अन्तिम अश्र बने बा,
त्यस दिन सप्तरङ्गी टीकासँगै
टाँसिएर बसेका थिए सपना र अपेक्षाका
प्रष्ट चित्रहरू निधारमाथि
जब गाडीले हुर्याउँदै लग्यो मेरो जन्मभूमिसँग
बिस्तारै आफैँले बोकेको सामानको झोला भन्दा
घरपरिवारको आशाको भारी गह्रुङ्गो लाग्न थाल्यो ।

बाबा चार आना जमिन किन्ने नाममा 
छ आना जमिनको लालपूर्जा साहुको
छाडेर स्वाभिमान झुकाएर खाडीमा गाडिएको म
बाबा भाइले मनमा सजाएर राखेको देशको चित्र
आज पनि बचाएर राखेको छ आँफु बाच्न नसके पनि
भाइले शिरमा राखेर स्वाभिमान
अस्ति मात्रै रङ्ग्याएछ झण्डा आफ्नै रगतले
र त आज ऊ झुण्डिएको छ तस्विरमा
दशरथ चन्दसँगै ।

तर बाबा तपाईं
२ बोतल पेट्रोलसँग आफ्नो स्वाभिमान कदापि नसाट्नुहोला
तपाईसँग अब यही एउटा ईच्छा छ मेरो
हामीलाई बचाउन नसके पनि बाबा
मेरो देशको अस्तित्व बचाइदिनुस्
ताकि अब फेरि
सगरमाथा भन्दा अग्लो स्वाभिमानको शिर
बेलाबेलामा हाम्रा सन्तानले झुकाउन नपरोस्
हाम्रा सन्तानले रगत र पसिनाले खाडीका
मरुभूमि सिंचाई गर्न नपरोस् !
मेरा बहिनीहरूले फेरि ईराक र मुम्बईका
कोठीमा बेचिन नपरोस्
बाबा त्यसैले मेरो देश बचाउनुहोस् ।

देहलता,
आमा र तिम्रा आँशुले
जलाईएको मेरो भविष्य र
चित्कारले फाँसीको डोरी फुकाउन
नसके पनि
देशमा दन्किरहेको हिंसाको आगो
निभाउनु छ र
सम्बन्धको जालो पुनः बुन्नु छ ।

यो आज हाम्रो स्वाभिमान र राष्ट्रियता
उम्लिएर होइन भरिएर पोखिएको हो
त्यसैले यसलाई जोगाएर राखिदिनु बा
किनभने अब रातो बाकसमा म पनि आउँदै छु ।।।

Subscribe to this Blog via Email :